Saturday, March 28, 2020

कोरोना संक्रमित युवकको पीडा : न चिकित्सक हेर्न आए, न तातोपानी नै दिए

Share This Post:


१५ चैत, धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भयो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ ।

तर, आफूलाई चिकित्सकले जाँच पनि नगरेको र औषधि पनि नदिएको उनको आरोप छ । कतिसम्म भने उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत सहज रुपमा थाहा पाउन सकेनन् ।

धनगढीमा एक जनामा कोरोना संक्रमण देखिएको खबर सञ्चार माध्यमहरुमा आएपछि आफूले डाक्टरलाई फोन गरेर सोधेपछि मात्रै चिकित्सकहरुले आफ्नो अवस्थाबारे जानकारी दिएको उनले बताए ।

संक्रमित ती युवाका अनुसार उनलाई अस्पतालले अहिले भर्ना भएको बेला राखिएको ठाउँबाट अर्को ठाउँमा राखेको छ । उनले भने, ‘मलाई औषधि र तातो पानीसम्म कसैले सोध्न आउँदैनन् ।’

जबकी कोरोना भाइरसबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ । तर, आफूले अहिलेम्म खाना र तातोपानीसमेत घरबाट ल्याएर खाइरहेको उनले सुनाए ।

अब, परिवारका सबै सदस्य क्वारेन्टाइनमा बसेपछि कसले खाना ल्याइदिन्छ भन्ने चिन्ता बढेको उनले सुनाए । ती युवकलाई कारोना संक्रमण भएको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ र नमुना संकलन गरिँदैछ ।

‘अहिलेसम्म मलाई घरबाटै खाना ल्याइएको थियो । घरका सबैलाई रंगशाला राखिएको छ अब कसरी खाना ल्याउने ? उनको गुनासो छ ।

अस्पतालले झुलबाहेक केही नदिएको उनले बताए । चिकित्सकहरु पनि डरले नजिक नआएको हुनसक्ने भन्दै उनी भन्छन्, ‘समस्या भए कसलाई भन्ने पनि थाहा छैन ।’